Breaking News

रेखा रिटर्न्स


श्रावण १९ /
 रेखा थापा ‘हिरो’ बाट नेपाली फिल्ममा छिरेकी हुन्। निर्माता छवी ओझाले डेब्यु गराएकी रेखाले छोटो समयमै आफ्नो हिरोइज्मलाई स्थापित गर्न सकिन्। पुरुष कलाकार र तिनका चरित्रहरूको बोलबाला चल्ने फिल्म क्षेत्रमा रेखाले महिला नायकत्व स्थापित गरिदिइन्।

पछिल्लो समय त आफ्नै ब्यानरबाट उनले लगातार महिलाप्रधान कथामा मुख्य भुमिका निर्वाह गरी एक्लैले फिल्मको बागडोर सम्हालिन्। ‘काली’, ‘हिम्मतवाली’, ‘रामप्यारी’ जस्ता फिल्म त्यसका उदाहरण हुन्।

आफ्नै ब्यानर रेखा फिल्म्समा मात्रै व्यस्त रहँदै आएकी उनले पछिल्ला दिन बाहिरी ब्यानरका फिल्ममा पनि खेल्न थालेकी छन्। यसै साता मात्रै उनलाई कृषा चौलागाईको ‘पलाँस’ को टिजरमा देखियो। उक्त फिल्ममा रेखालाई नगरबधूका रुपमा देख्न सकिन्छ भने कामेश्वर चौरसिया कोठी सञ्चालकका रुपमा छन्।

रेखा मंगलबारै नयाँ फिल्ममा पनि अनुबन्ध भएकी छन्। ‘हिरो रिटर्न्स’ मार्फत रेखा नायक सविन श्रेष्ठसँग जोडी बाँध्दै पुनस् देखा पर्ने भएकी हुन्। चार वर्षअघि मात्रै रेखाले सविनलाई ‘अन्दाज’ मा आफ्नो जोडीका रुपमा डेब्यू गराएकी थिइन्। यस पटक भने सविनकै आग्रहमा रेखा ‘हिरो रिटर्न्स’ मा उनको जोडी बन्न तयार भएकी हुन्।

‘सविनको आग्रहलाई टार्नै सकिनँ,’ सविनको प्रस्ताव नै अकाट्य आएको भन्दै रेखाले थपिन्, ‘फेरि मेरो भूमिका पनि पृथक छ। त्यसैले खेल्न राजी भएँ।’

आशिष भेटवालले निर्देशन गर्ने फिल्म शिवम् अधिकारीको पटकथामा बन्न लागेको हो। चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको संयुक्त निर्माण हुने ‘हिरो रिटर्न्स’ मा सरोज खनाल र दिल श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ। सरोजले फिल्ममा आफू खल चरित्रका रूपमा देखिन लागेको बताए।

मदन कश्यप घिमिरेको छायांकन रहने फिल्ममा टंक बुढाथोकी र दीपक शर्माको संगीत हुनेछ। एक्सन–कमेडी जानरामा बनाइन लागेको फिल्मको एक्सन निर्देशन चन्द्र पन्तले गर्नेछन् भने कोरियोग्राफीको जिम्मा कविराज गहतराजले सम्हाल्ने भएका छन्।

युनिटका अनुसार, फिल्म भदौ १ देखि छायांकनमा जानेछ। Ekantipur

No comments

मिठो कमेन्टका लागी धन्यबाद । ब्ल्गका बारेमा केही भन्न मन लागेमा अथवा तपाईसँग पनि यो ब्लग सुहाउने केही खुराक भए पठाउनु होला